मोन्टी देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट दिए राजीनामा
काठमाडौं — मोन्टी देसाईले क्यानडा पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। उनको दोस्रो कार्यकाल तीन महिनाभन्दा केही बढी समयमै समाप्त भएको हो।
देसाईलाई गत १ मेमा क्यानडा टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। उनको नेतृत्वमा क्यानडाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुई त्रिकोणात्मक सिरिज खेलेको थियो। तीमध्ये एउटा क्यानडाको घरेलु मैदानमा र अर्को स्कटल्यान्डमा आयोजना भएको थियो।
क्यानडा अहिले सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकपमा सिधा छनोट हुने दौडमा कठिन अवस्थामा छ। लिग–२ मा चार खेल बाँकी रहँदा क्यानडा शीर्ष चार स्थानभन्दा ६ अंक पछाडि छ। शीर्ष चारमा पर्न नसके टोलीले विश्वकप छनोट प्ले–अफ खेल्नुपर्नेछ।
छनोट प्ले–अफबाट चार टोलीले सन् २०२७ को विश्वकपको मुख्य छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। यस्तो महत्त्वपूर्ण चरणमा टोलीबाट देसाईको बहिर्गमनले क्यानडाको छनोट अभियानमा थप चुनौती थपिएको छ।
देसाईले सामाजिक सञ्जालमार्फत राजीनामाको पुष्टि गर्दै क्यानडा टोलीसँगको समय छोटो भए पनि अर्थपूर्ण रहेको बताएका छन्। उनले हरेक वातावरणले नयाँ सिकाइ दिने उल्लेख गर्दै दीर्घकालीन सफलता समय, विश्वास, तयारी, बलियो सम्बन्ध र सामूहिक जिम्मेवारीबाट निर्माण हुने आफ्नो विश्वास थप बलियो भएको बताएका छन्।
५८ वर्षीय देसाईको क्यानडा क्रिकेटसँग यो दोस्रो सम्बन्ध थियो। उनले यसअघि सन् २०१९ मा नामिबियामा भएको विश्व क्रिकेट लिग–२ अभियानका क्रममा पनि क्यानडा टोलीलाई प्रशिक्षण दिएका थिए।
दुई दशकभन्दा बढीको प्रशिक्षण अनुभव बोकेका देसाईले अफगानिस्तान, यूएई र नेपाललगायतका टोलीसँग काम गरिसकेका छन्। नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रामा पनि उनको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ।
देसाई नेपालसँग विश्वकप लिग–२ को सफल अभियानमा सहभागी भएका थिए। उनले अमेरिका र वेस्ट इन्डिजमा आयोजित सन् २०२४ को आईसीसी पुरुष टी–२० विश्वकपमा पनि नेपाली टोलीसँग काम गरेका थिए।
देसाईको राजीनामापछि क्रिकेट क्यानडाले अब नयाँ मुख्य प्रशिक्षकको खोजी गर्नुपर्ने भएको छ। सन् २०२७ को विश्वकप छनोट अभियानको निर्णायक चरणमा टोली प्रवेश गरिरहेका बेला मुख्य प्रशिक्षक परिवर्तनले क्यानडाको आगामी अभियानलाई थप चुनौतीपूर्ण बनाउने देखिएको छ।