रास्वपा केन्द्रीय कमिटी बैठक बस्दै, बालेन्द्र शाह अनुपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नहुने भएका छन्। शाह मुस्ताङ भ्रमणमा रहेकाले बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री शाह कार्यव्यस्तताका कारण मुस्ताङतर्फको भ्रमणमा गएका हुन्। यद्यपि, पछिल्ला केही बैठकमा पनि उनको अनुपस्थिति देखिएकाले पार्टीभित्र उनको भूमिकालाई लिएर विभिन्न चर्चा भइरहेको छ। बालेन्द्र शाह समूहका नेताहरू भने केन्द्रीय कमिटी बैठकमा सहभागी भइरहेका छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह बैठकमा सहभागी छन्। पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालय पुगिसकेका छन्। लामिछानेसहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुने तयारीमा छन्।
यसअघि केही दिनअघि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा पनि प्रधानमन्त्री शाहको अनुपस्थितिको विषय उठेको थियो। त्यसक्रममा सभापति लामिछानेले आगामी संसदीय दलको बैठकमा प्रधानमन्त्री शाह सहभागी हुने जानकारी गराएका थिए। तर, आजको केन्द्रीय कमिटी बैठकमा भने शाह उपस्थित नहुने भएका छन्।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनपछि रास्वपाको केन्द्रीय कमिटी बैठक तेस्रोपटक बस्न लागेको हो। महाधिवेशनपछि पार्टीको संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँटलाई अघि बढाउने क्रममा बैठक महत्वपूर्ण मानिएको छ।
आजको बैठकमा सभापति लामिछानेले केही केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनित गर्न सक्ने सम्भावना रहेको बताइएको छ। यद्यपि, मनोनयनसम्बन्धी औपचारिक कार्यसूची वा निर्णयबारे पार्टीले स्पष्ट जानकारी दिएको छैन।
रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य, ११ जना पदाधिकारी तथा १८ भन्दा बढी सचिवालय सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ। यसअघि सभापति लामिछानेले बालेन्द्र शाहलाई मात्रै वरिष्ठ नेताका रूपमा मनोनित गरेका थिए।
महाधिवेशनपछि पार्टीको नेतृत्व संरचना र संगठनात्मक जिम्मेवारीलाई थप व्यवस्थित गर्ने विषय रास्वपाका लागि महत्वपूर्ण बनेको छ। त्यसैले आजको बैठकमा हुने निर्णयलाई पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक दिशाका दृष्टिले चासोका साथ हेरिएको छ।