रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यको मतगणना सुरु, पदाधिकारी चयनमा सहमतिको प्रयास
चितवन, असार ११ — राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। मतदान सम्पन्न भएसँगै मतगणना सुरु गरिएको छ भने करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।
राम–लक्ष्मण भोटिङ मेसिनमार्फत मतदान गरिएको निर्वाचनको नतिजा आएपछि मात्र पदाधिकारी चयन प्रक्रिया अघि बढाइने जनाइएको छ।
पार्टीका नेताहरूका अनुसार पदाधिकारी चयनका लागि सकेसम्म सहमतिमार्फत प्रक्रिया टुंग्याउने प्रयास भइरहेको छ। सहमति कायम भएमा निर्वाचन आवश्यक नपर्ने भए पनि सहमति नजुटेमा विभिन्न पदका लागि निर्वाचनमार्फत चयन गरिनेछ।
पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले राजनीतिक दलहरूमा पदाधिकारी चयन गर्दा सहमतिको अभ्यास सामान्य रहेको भन्दै रास्वपाले पनि त्यही अभ्यास अपनाउन प्रयास गरिरहेको बताए। उनले सहमति अन्तिमसम्म खोजिने र सम्भव नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन गरिने स्पष्ट पारे।
महाधिवेशनको अन्तिम चरणमा सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारी चयन हुने भएकाले नेतृत्वप्रति प्रतिनिधिहरूको चासो बढेको छ।