थाइल्यान्डसँग पराजित हुँदै नेपाल एसिया कप छनोटबाट बाहिरियो
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ।
बुधबार वायुमास ओभलमा भएको खेलमा १३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। कमजोर ब्याटिङ प्रदर्शनका कारण नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो।
नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्री ले अविजित २० रन बनाइन्। त्यस्तै सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिइन्। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि समान २–२ विकेट हात पार्दै नेपालको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो। उसका लागि नानापत कोन्चारोन्काइले अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् भने फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रनको योगदान दिए। नेपालका तर्फबाट कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए।
महत्त्वपूर्ण खेलमा पराजय भोगेसँगै नेपाली महिला टोली लगातार दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटबाट वञ्चित भएको छ। यसअघि एसियन गेम्स छनोटको निर्णायक खेलमा चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्समा स्थान बनाउन असफल भएको थियो।