समान सुविधा र स्थायित्वको माग गर्दै अनुदान शिक्षकको प्रदर्शन
काठमाडौं । पेशागत निरन्तरता, स्थायित्व र समानताको हक सुनिश्चित गर्नुपर्ने मागसहित सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सरकारले ल्याएको बजेटमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिको नेतृत्वमा शिक्षकहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले समान रूपमा तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता लागू गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने तथा विगतमा नेपाल सरकार र शिक्षा मन्त्रालयसँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
अनुदान शिक्षक कौशिक शर्माले सरकारसँग भएका सबै सहमतिहरू अक्षरशः कार्यान्वयन हुनुपर्ने आफूहरूको मुख्य माग रहेको बताए।
यस्तै, शिक्षक व्यवस्थापनका लागि आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत स्थायी समाधान निकाल्ने सहमति पनि कार्यान्वयन गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।