देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो दिन रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहनेछ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनीको तराई तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। यी क्षेत्रका थोरै स्थान तथा मधेस प्रदेश र अन्य हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।