चितवन मेडिकल कलेजमा दुर्लभ मस्तिष्क शल्यक्रिया, चिरफारबिनै फुटेको नसा उपचार
चितवन । चितवन मेडिकल कलेजमा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी सफल शल्यक्रिया गरिएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो उपचारपछि बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र आज उनलाई अस्पतालबाट बिदा गर्ने तयारी गरिएको छ ।
अस्पतालका हस्तक्षेपात्मक विकिरण विशेषज्ञ डा. विवेककुमार साह र हृदय तथा रक्तनली शल्यचिकित्सक प्रा. डा. अनिल आचार्यको टोलीले आधुनिक स्नायु–हस्तक्षेप प्रविधिमार्फत शल्यक्रिया सम्पन्न गरेको हो ।
चितवनको इच्छाकामना गाउँपालिकाकी ती युवती खाना खान नसक्ने समस्या लिएर अस्पताल पुगेकी थिइन् । चुम्बकीय अनुनाद चित्राङ्कन (एमआरआई) र कम्प्युटर प्रविधिबाट गरिने शरीरभित्रको तस्बिर परीक्षण (सिटी स्क्यान) का क्रममा उनको मस्तिष्कको ठूलो नसा फुटेको पत्ता लागेको थियो ।
डा. साहका अनुसार चिरफार गरेर पुग्न कठिन स्थानमा रहेको नसाको उपचार विशेष जाली राख्ने प्रविधिबाट गरिएको हो । यस प्रविधिबाट रक्तप्रवाहलाई सुरक्षित दिशातर्फ मोडेर नसाको कमजोर भागलाई सुरक्षित बनाइन्छ, जसले थप क्षति हुनबाट जोगाउँछ ।
अस्पतालका क्याथल्याब इञ्चार्ज अमृत काफ्लेका अनुसार यस्तो जटिल उपचारका लागि दक्ष जनशक्ति र अत्याधुनिक उपकरण आवश्यक पर्छ । अस्पतालमा रहेको द्विदिशीय क्याथेटर प्रयोगशाला सुविधाका कारण उपचार सफलतापूर्वक सम्भव भएको उनले बताए ।
चिकित्सकहरूका अनुसार यस्तो समस्या निकै दुर्लभ मानिन्छ र करिब एक हजारमध्ये एक जनामा मात्र देखिन सक्छ । मस्तिष्कको नसा फुट्ने समस्या अत्यन्त संवेदनशील हुने भएकाले उपचारका क्रममा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
डा. साहले नेपालमा चिरफारबिनै विभिन्न स्नायुसम्बन्धी शल्यक्रिया हुँदै आए पनि यस प्रकृतिको जटिल मस्तिष्क नसा उपचार पहिलोपटक सफलतापूर्वक गरिएको बताएका छन् ।