विपक्षी सांसदको गतिविधिप्रति सभामुख अर्यालको आपत्ति
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले सभाको मर्यादा र अधिकारको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राई ले सहिदहरूको सम्मानमा पाँच मिनेट मौनधारणको प्रस्ताव राखेपछि विपक्षी सांसदहरू उभिएका थिए। त्यसलगत्तै सभामुख अर्यालले सभा सञ्चालन गर्ने अधिकार सभामुखको भएको उल्लेख गर्दै सांसदहरूले आफ्नै निर्णयमा समय तोक्नु सभाप्रतिको अपमान भएको बताए।
उनले बैठक सञ्चालनका क्रममा सांसदहरूले आफ्नै विवेकले कार्यक्रम निर्धारण गर्ने प्रयास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए। साथै, विपक्षी सांसदहरूले बैठकमा व्यक्त गरेका केही अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि जनाए।
यसअघि सचेतक राईले नेपाललाई एकताबद्ध बनाउन योगदान पुर्याउने व्यक्तिहरूको सम्मानमा मौनधारण गर्न आग्रह गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरू मात्रै मौनधारणका लागि उभिएका थिए।