भूपू गोर्खाका माग चाँडै सम्बोधन गर्न बेलायतसँग परराष्ट्रमन्त्री खनालको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको लामो समयदेखि सम्बोधन हुन नसकेका मागहरूको शीघ्र समाधानका लागि बेलायत सरकारसँग आग्रह गरेका छन्।
मन्त्री खनालले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बेलायतका जोन हेल्ली तथा भेटेरन एवं जनमन्त्री लुइस स्यान्डर-जोन्ससँग भर्चुअल बैठक भएको बताएका हुन्।
बैठकमा भूपू ब्रिटिश गोर्खाहरूका विभिन्न माग, विशेषगरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भएर छलफल भएको जनाइएको छ।
नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको ऐतिहासिक र महत्वपूर्ण योगदानको स्मरण गर्दै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानका आधारमा ती मुद्दाहरू सम्बोधन गर्न तथा सकेसम्म छिटो पारस्परिक सहमतिमा समाधान खोज्न बेलायत सरकारसँग आग्रह गरेका छन्।
भूपू गोर्खाहरूले लामो समयदेखि समान कामका लागि समान पेन्सन र सेवा–सुविधाको माग गर्दै आएका छन्। यस विषयमा नेपाल र बेलायतबीच विभिन्न चरणमा वार्ता तथा संवाद हुँदै आएको छ।