राउण्ड अफ ३२ मा मेक्सिको, दक्षिण कोरियामाथि संघर्षपूर्ण जित
फिफा विश्वकप २०२६ मा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ ३२) मा प्रवेश गरेको छ।
शुक्रबार राति ग्वाडालाजारामा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै मेक्सिकोले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
मेक्सिकोको जितमा लुइस रोमो नायक बने। उनले खेलको ५०औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक सावित भयो।
लगातार दोस्रो जितसँगै मेक्सिकोले दुई खेलबाट ६ अंक जोड्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेको छ। पराजित दक्षिण कोरियाको भने ३ अंक रहेको छ र उसको नकआउट सम्भावना अझै कायम छ।
यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकमाथि जित निकालेको थियो।
सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोले नकआउट यात्रा सुनिश्चित गरेको हो।
विश्वकप २०२६ को नयाँ ढाँचाअनुसार प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोलीसहित कुल ३२ टोली राउण्ड अफ ३२ मा प्रवेश गर्ने व्यवस्था रहेको छ।