काठमाडौं महानगरले ‘टोल–टोलमा चलचित्र महोत्सव’ सञ्चालन गर्ने
काठमाडौं, २२ जेठ — काठमाडौं महानगरपालिकाले ‘टोल–टोलमा चलचित्र महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरले इच्छुक सामुदायिक तथा सामाजिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
काठमाडौं महानगरपालिका को सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संस्था, युवा क्लब, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई कार्यक्रम सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव माग गरेको हो।
सूचनाअनुसार इच्छुक संस्थाले महानगरले तोकेको स्थान, समय, सर्त तथा मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्ने विस्तृत योजना ७ दिनभित्र विभागमा पेस गर्नुपर्नेछ।
महोत्सवका लागि परम्परागत टोल, बहाः, बही, चोक, नदी किनार, खुला रंगमञ्च तथा पार्कजस्ता खुला सार्वजनिक स्थान प्रयोग गर्न सकिने जनाइएको छ।
छनोट भएका संस्थासँग सहकार्य गर्दै महानगरले सहभागितामूलक रूपमा चलचित्र महोत्सव आयोजना गर्ने जनाएको छ। कार्यक्रममा क्युरेटेड चलचित्र प्रदर्शनका लागि एलईडी पर्दा, ध्वनि प्रणालीलगायत आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइनेछ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधाको सदस्य रहेको काठमाडौं महानगरले सिर्जनात्मक उद्योगको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम अघि बढाएको हो।
कार्यवाहक नगरप्रमुख सुनिता डंगोल ले यस वर्षको कान्स चलचित्र महोत्सवबाट फर्किएपछि यस्तो कार्यक्रम सञ्चालन हुने जानकारी दिएकी थिइन्।