कर छली प्रकरणमा अर्थमन्त्रीको राजीनामा माग गर्दै राप्रपाकी प्रमुख सचेतक ओली
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा भएको भनिएको कर छली प्रकरणको निष्पक्ष छानबिनका लागि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छन्।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले उक्त प्रकरणबारे छानबिन गर्न समिति गठन भइसकेको अवस्थामा अनुसन्धान सम्पन्न नहुँदासम्म अर्थमन्त्री पदमा बसिरहनु उचित नहुने धारणा व्यक्त गरिन्।
उनले कर छली र करका दर हेरफेरको विषय प्रत्यक्ष रूपमा अर्थ मन्त्रालयसँग सम्बन्धित भएकाले निष्पक्ष तथा विश्वसनीय छानबिन सुनिश्चित गर्न अर्थमन्त्रीले जिम्मेवारीबाट अलग हुनुपर्ने जिकिर गरिन्। अर्थमन्त्रीकै मातहतमा बनेको समितिले वास्तविक छानबिनभन्दा विषयलाई सामसुम पार्ने प्रयास मात्र गर्न सक्ने उनको आरोप थियो।
ओलीले सीमा सम्बन्धी विषयलाई लिएर संसद् अवरुद्ध भइरहेको प्रसंग उल्लेख गर्दै नेपालले सीमा मिचेको भन्ने दाबी सही हो भने प्रधानमन्त्रीले त्यसको पुष्टि गर्नुपर्ने, अन्यथा आफ्नो गल्ती स्वीकार गरी सच्याउनुपर्ने बताइन्।
उनले सरकार संवेदनशील विषयमा स्पष्ट र जिम्मेवार बन्नुपर्ने भन्दै संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू तयार हुनुपर्ने धारणा राखिन्।