‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’को उपाधि जुम्लाका राजन रोकायलाई
सुर्खेत, ८ असार — ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज सुर्खेतमा आयोजित प्रतियोगितामा रोकायले २१ किलोमिटर दूरी १ घण्टा ९ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा कालिकोटका विनोद रोकाय दोस्रो भए। उनले सो दूरी १ घण्टा ९ मिनेट ३९ सेकेण्डमा पूरा गरे भने एपिएफका गोपीचन्द्र पार्की तेस्रो भए। पार्कीले दूरी १ घण्टा १० मिनेट २८ सेकेण्डमा पूरा गरेका थिए। विजेताहरूलाई क्रमशः १ लाख ५० हजार, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
महिलातर्फको १० किलोमिटर खुला दौडमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन्। उनले ३६ मिनेट ४०.६० सेकेण्डमा दूरी पार गरिन्।
जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो भइन् भने बाजुराकी सिर्जना पाण्डे तेस्रो भइन्। उनीहरूलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ।
पाँच किलोमिटर छात्रातर्फ सुर्खेतकी कृष्णा राना पहिलो भइन् भने जुम्लाकी अन्तिमा बुढा दोस्रो र बाँकेकी स्वस्तिका शाही तेस्रो भइन्। छात्रातर्फ पाँच किलोमिटर दौडमा कालिकोटका अनिल शाही पहिलो भए। जुम्लाका युवकराज बुढा दोस्रो र सुर्खेतका भुवन चालिसे तेस्रो भए।
विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले कर्णालीमा खेलकुद क्षेत्रले उल्लेख्य प्रगति गरिरहेको बताइन्। आयोजकका अनुसार ‘दौडिन्छ कर्णाली’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो।
मिड वेस्टर्न फिटनेस सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले प्रतियोगिताले कर्णालीका उदयीमान धावकलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुगेको बताए।