विश्वकपमा इरानी टोलीमाथि दबाब, यात्रा व्यवस्थापनप्रति प्रशिक्षकको असन्तुष्टि
लस एन्जलस — इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले आफ्नो टोलीलाई “सम्पूर्ण विश्वकपकै सबैभन्दा बढी दबाबमा रहेको टोली” भन्दै यात्रा व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।
इरानले सोमबार सोफी रङ्गशालामा भएको समूह चरणको खेलमा न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको थियो। खेलपछि घालेनोईले टोलीलाई पर्याप्त आराम नदिई तुरुन्तै मेक्सिकोको टिजुआना प्रशिक्षण शिविर फर्किन बाध्य पारिएको बताए।
विश्वकपअघि इरानको आधार शिविर अमेरिकाको एरिजोनाबाट सारेर मेक्सिकोको टिजुआनामा राखिएको थियो। तर समूह चरणका सबै खेल अमेरिकामै हुने भएकाले टोलीले हरेक खेलअघि अमेरिका जाने र खेलपछि पुनः मेक्सिको फर्किने यात्रा तालिका अपनाएको छ।
घालेनोईले लगातार हवाई यात्रा र विश्रामको कमीले खेलाडीको प्रदर्शन प्रभावित हुने बताएका छन्। “हामीले यात्रामै धेरै समय बितायौँ, तर खेलाडीलाई आराम आवश्यक हुन्छ,” उनले भने।
इरानका कप्तान मेहदी तारेमीले पनि टोलीले प्रशासनिक तथा व्यवस्थापकीय चुनौती भोगिरहेको बताएका छन्। उनका अनुसार खेलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो टोलीको ड्रेसिङ रुममा पुगेका थिए र सहयोगको आश्वासन दिएका थिए।
तारेमी र घालेनोईले इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजसहित केही पदाधिकारीलाई अमेरिका प्रवेश अनुमति नदिइएको विषयमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।
महिनौँको अनिश्चितता र राजनीतिक तनावबीच विश्वकपमा सहभागी इरानको पहिलो खेल लस एन्जलसमा आयोजना गरिएको थियो, जहाँ ठूलो इरानी समुदायको उपस्थिति थियो। खेलअघि राष्ट्रिय गानका क्रममा केही दर्शकबाट विरोध सुनिए पनि समर्थकहरूले टोलीलाई उत्साहजनक समर्थन दिएका थिए।
इरानका लागि रामिन रेजाइयान र मोहम्मद मोहेब्बीले गोल गरेका थिए। अब इरानले आइतबार बेल्जियमसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल इजिप्टसँग खेल्ने तालिका छ।