एन्फाका दुई पदाधिकारीलाई विश्वकप यात्रा गर्न रोक, विमानस्थलबाटै फर्काइयो
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप हेर्न जाने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई पदाधिकारीलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोक लगाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पत्रका आधारमा एन्फा अध्यक्ष All Nepal Football Associationका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई विदेश यात्रा गर्न नदिइएको अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार राखेपको निर्णयअनुसार सम्बन्धित मन्त्रालयबाट आएको अनुरोधपत्रका आधारमा उनीहरूलाई विमानस्थलमै रोकिएको हो।
उनका अनुसार अनुसन्धान वा छानबिनको दायरामा रहेका व्यक्तिहरूको विदेश यात्रा रोक्ने प्रचलनअनुसार नै निर्णय गरिएको हो। तर उनीहरूलाई कालोसूचीमा भने नराखिएको विभागले स्पष्ट पारेको छ।
राखेपले आर्थिक अनियमिततासम्बन्धी छानबिनका क्रममा एन्फाका पदाधिकारीलाई निगरानीमा राखेको र विदेश यात्रा रोक्ने निर्णय गरेको बताइएको छ। यसअघि पनि राखेपले सबै पदाधिकारीलाई विदेश जान रोक लगाउने गरी अध्यागमन विभागलाई पत्राचार गरेको थियो।
विदेश जान रोक फुकुवा गराउन उनीहरू सोमबार राखेप सचिवालय पुगे पनि अनुमति नपाएको र मंगलबार मेक्सिको प्रस्थान गर्ने तयारीमा विमानस्थल पुगेकै बेला रोकिएको बताइएको छ।