लिग–२ मा यूएईविरुद्ध नेपालले अर्जुन कुमाललाई डेब्यू गराउँदै ओपनिङ जोडी परिवर्तन
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले नयाँ ओपनिङ जोडी उतारेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले विनोद भण्डारी र अर्जुन कुमाललाई ओपनिङमा मौका दिएको हो।
अर्जुन कुमालले आजै राष्ट्रिय टिममा डेब्यू गरेका छन्। उनलाई कप्तान रोहित पौडेलले क्याप प्रदान गरेका हुन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका अर्जुन ओपनिङ ब्याट्सम्यानका रूपमा परिचित छन्।
नेपाल र यूएई दुवै टोलीलाई शीर्ष ६ मा स्थान बनाउन जित्नै पर्ने दबाब छ। हालसम्म नेपालले २२ खेलमा ६ जितसहित १४ अंक जोडेको छ भने यूएई १२ अंकसहित पुछारमा छ।
लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल, यूएई र ओमान प्रतिस्पर्धामा छन्। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो।
नेपालको प्लेइङ–११ मा रोहित पौडेल (कप्तान), अर्जुन कुमाल, विनोद भण्डारी, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।