सुकुम्बासी होल्डिङ सेन्टर अनुगमन गर्न सांसद नेम्बाङको प्रस्ताव
काठमाडौं — संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद सुहाङ नेम्बाङले सुकुम्बासी राखिएका होल्डिङ सेन्टरहरूको तत्काल अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
समितिको सोमबारको बैठकमा नेम्बाङले काठमाडौंमा सुकुम्बासी बस्ती हटाइएपछि व्यवस्थापनमा समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले होल्डिङ सेन्टरको अवस्था बुझ्न तत्काल अनुगमनमा जानुपर्ने आवश्यकता औंल्याए।
उनको प्रस्तावलाई समितिकी सभापति समीक्षा बास्कोटा र सांसद सोबिता गौतमले समर्थन जनाएका छन्।
बैठकमा नेम्बाङले अध्यादेशमार्फत कानुन निर्माण प्रक्रिया र सुकुम्बासी व्यवस्थापनका विषयमा सरकार कमजोर देखिएको टिप्पणीसमेत गरेका थिए।
काठमाडौंमा हालै सुकुम्बासी बस्ती हटाइएपछि उचित पुनःस्थापना र व्यवस्थापन नभएको भन्दै आलोचना बढिरहेको छ।