नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि उपत्यकामा मतदान सुरु
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि काठमाडौं उपत्यकाभित्र आजदेखि मतदान सुरु भएको छ।
निर्वाचन समितिका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आज र भोलि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदान सञ्चालन हुनेछ। यसअघि उपत्यकाबाहिरका २३ मतदान केन्द्रमा वैशाख ४ र ५ गते मतदान सम्पन्न भइसकेको थियो, जसमा ४ हजार २४४ मत खसेको जनाइएको छ।
यसपटक १९ सदस्यीय केन्द्रीय समितिका लागि तीन समूहबीच प्रतिस्पर्धा भइरहेको छ। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सात प्रदेशका उपाध्यक्षसहित विभिन्न पदका लागि कुल ५५ जना उम्मेदवार मैदानमा छन्।
तीन प्रमुख समूहहरू डा. बद्री रिजाल समूह, डा. मंगल रावल समूह र ‘टिम रिफर्म’ डा. नारायण भुषाल समूहका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
उपत्यकाभित्रको मतदान सकिएपछि संघको नयाँ नेतृत्वको टुंगो लाग्नेछ।