बजेटमार्फत कर्मचारी तलब १५ प्रतिशतले बढाउने प्रस्ताव, श्रेणीगत पुनर्संरचनाको तयारी
आगामी बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउने र श्रेणीगत संरचना पुनर्संरचना गर्ने प्रस्ताव अघि सारिएको छ।
प्रस्तावअनुसार कार्यालय सहयोगीको तलब करिब ३२ हजार ६ सय रुपैयाँ, मुख्यसचिवको तलब १ लाख २० हजार रुपैयाँसम्म पुर्याउने गरी नयाँ संरचना बनाउने तयारी गरिएको छ। अन्य निजामती कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीहरूको तलब पनि तहअनुसार समान अनुपातमा समायोजन गर्ने योजना रहेको बताइएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार तलब वृद्धिसँगै वर्तमान ग्रेड प्रणालीलाई पुनरावलोकन गर्दै अधिक सरल र समानतामूलक बनाउने विषयमा छलफल भइरहेको छ।
यद्यपि, यो प्रस्ताव अन्तिम निर्णय नभएको र बजेट निर्माण प्रक्रियामा अझै छलफल जारी रहेको जनाइएको छ।