रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने, उच्चस्तरीय भेटवार्ता हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा भ्रमण तय भएको रास्वपा स्रोतले जनाएको छ।
स्रोतका अनुसार लामिछाने दुई दिनका लागि भारत जाने तयारीमा छन् र जेठ १८ गते आसपास भ्रमण हुन सक्ने बताइएको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नयाँ सरकार गठनपछि नेपाल–भारत उच्चस्तरीय भ्रमणहरू ठप्पजस्तै बनेको सन्दर्भमा यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको थियो।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको विषयमा समेत चर्चा भए पनि हालसम्म औपचारिक तय नभएको बताइएको छ। भारत सरकारले प्रधानमन्त्री शाहलाई औपचारिक भ्रमणको निम्तो दिएको भए पनि मिति निश्चित भएको छैन।
परराष्ट्र कूटनीतिक सन्तुलन र हालको राजनीतिक अवस्थाबीच हुने यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुधारतर्फको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ।