देशभर सक्रिय मौसम प्रणाली, उपत्यकासहित धेरै प्रदेशमा हुरीबतास र भारी वर्षाको चेतावनी
जल तथा मौसम विज्ञान विभागले देशभर सक्रिय मौसम प्रणाली पूर्वतिर सर्दै गइरहेको जनाएको छ। यस प्रणालीका कारण काठमाडौँ उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश क्षेत्रमा वर्षा सुरु भएको छ।
विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार वर्षा गराउने प्रणाली सुदूरपश्चिमबाट सुरु भई लुम्बिनी हुँदै पूर्वतिर विस्तार भइरहेको छ।
अधिकारीका अनुसार हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ भने केही स्थानमा यसको प्रभाव करिब दुई घण्टासम्म रहन सक्छ।
विभागले आज विशेषगरी भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साँझपछि भने वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। यद्यपि, आगामी केही दिनसम्म देशभर वर्षा गराउने प्रणाली सक्रिय रहने चेतावनी दिइएको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। साथै, दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले पनि मौसममा थप असर पारेको विभागले जनाएको छ।
मौसमको अवस्थाअनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी, कर्णाली र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। पहाडी तथा तराईका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ।
विभागले सम्भावित बाढी, पहिरो र चट्याङको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।