११ दिनमै ३५० विपद् घटना: २० जनाको मृत्यु, आगलागी सबैभन्दा बढी
काठमाडौं — विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका ३५० विपद्का घटना दर्ता भएका छन्।
ती घटनामा परी २० जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन्। यस अवधिमा कुल ५०३ परिवार प्रभावित भएका छन्।
प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन्। ११ दिनको अवधिमा २०७ आगलागी हुँदा ६ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्। आगलागीकै कारण २४२ परिवार प्रभावित भएका छन्। सुख्खा मौसम, बढ्दो तापक्रम र हावाहुरीका कारण आगलागीका घटना उच्च देखिएको जनाइएको छ।
त्यस्तै, वन डढेलोका १०७ घटना दर्ता भएका छन्, जसबाट १७ परिवार प्रभावित भएका छन्। बाढीका २८ घटनामा ४ जनाको मृत्यु र ७ जना घाइते भएका छन्।
चट्याङका ९ घटनामा ३ जनाको मृत्यु र ४ जना घाइते भएका छन् भने सर्पदंशका १८ घटनामा १ जनाको मृत्यु र १७ जना घाइते भएका छन्।
यसैगरी, लेक लाग्ने २ घटनामा १ जनाको मृत्यु, डुबानका ९ घटनामा २ जनाको मृत्यु तथा पहिरोका २ घटनामा १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।