सामाजिक सञ्जालमा फैलिएका भ्रामक सामग्रीप्रति सांसद सुहाङ नेम्वाङको आपत्ति
काठमाडौँ — नेकपा एमालेका सांसद सुहाङ नेम्वाङ ले आफ्नो नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधिसभा बैठक स्थगनपछि आफू इलाम केन्द्रित अभियानमा व्यस्त रहेको जानकारी दिए।
नेम्वाङले आफू सार्वजनिक सरोकारका विषयमा सधैं स्पष्ट धारणा राख्ने व्यक्ति भएको उल्लेख गर्दै पछिल्ला राजनीतिक घटनाक्रमलाई दीर्घकालीन प्रभावका आधारमा विश्लेषण गरिरहेको बताए। तर सामाजिक सञ्जालका विभिन्न पेजहरूमा ‘उनको भनाइ’ भन्दै प्रचार गरिएका पोस्टर तथा डिजाइनहरू आफ्नो वास्तविक धारणा नभएको उनले स्पष्ट पारे।
“ती सामग्रीमा व्यक्त विचार मेरो व्यक्तिगत वा राजनीतिक दृष्टिकोणसँग मेल खाँदैनन्,” उनले भने।
उनले सञ्चारकर्मी तथा सर्वसाधारणलाई यस्ता भ्रामक सामग्री पोस्ट वा शेयर नगर्न आग्रह गर्दै गलत सूचनाका आधारमा धारणा नबनाउन अनुरोध गरेका छन्।
उनका अनुसार जिम्मेवार सञ्चार माध्यमबाट यस्तो गतिविधि नभए पनि विभिन्न अनलाइन पेज र फेसबुकमार्फत् भ्रम फैलाउने काम भइरहेको छ। यसप्रति सजग रहन उनले सबैलाई आह्वान गरेका छन्।