सुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ, सञ्जालबारे अनुसन्धान जारी
सुनसरी — सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिइएको छ।
गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए।
उनका अनुसार झापाबाट गैँडाको खाग लिएर आउँदै गरेको सूचनापछि बर्जु–६ स्थित ताल नजिकैबाट चार जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको नाम भने हाल सार्वजनिक गरिएको छैन। सशस्त्र प्रहरीले यस घटनामा संलग्न सञ्जाल ठूलो हुनसक्ने आशंका गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।