बुटवलमा स्कुटर दुर्घटना: दुई युवतीको मृत्यु, चालक गम्भीर घाइते
बुटवल — पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ करिब ७ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित भ्यूटावर नजिकको ओरालो सडकमा लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णिमा मगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
स्कुटर चालक बाणगंगा नगरपालिका–७ बनगाईका २१ वर्षीय सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् र उनको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तीन जना सवार स्कुटर ओरालो सडकमा ओभरलोड भएकै कारण नियन्त्रण गुमाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त स्थानमा पछिल्ला दुई वर्षमा पटक–पटक दुर्घटना हुँदा ६ जनाको ज्यान गइसकेको छ। स्थानीयवासीका अनुसार सो सडक खण्डमा नियमित ट्राफिक चेकजाँच नहुँदा दुर्घटना दोहोरिने क्रम बढिरहेको छ।