फुटुङमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन डोजर प्रयोग
काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ।
सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार तारकेश्वर नगरपालिकाले बुधबारदेखि थापागाउँ क्षेत्रमा डोजर चलाएको हो। अतिक्रमण गरी भाडामा लगाइएको करिब दुई रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको नगरपालिकाले जनाएको छ।
तारकेश्वर नगरपालिकाकी उपप्रमुख तथा सार्वजनिक जग्गा संरक्षण समितिकी संयोजक सृजना बुर्लाकोटीका अनुसार थापागाउँ क्षेत्रमा निर्माण गरिएका टहरा, सटर तथा अन्य संरचना हटाइएको छ। उक्त सरकारी जग्गामा चाँडै सूचना बोर्ड राखिने पनि उनले जानकारी दिइन्।
उनले तारकेश्वर क्षेत्रमा अतिक्रमण भएका अन्य सार्वजनिक जग्गाको विवरण प्रमाणसहित नगरपालिकामा उपलब्ध गराउन स्थानीयवासीलाई आग्रह गरेकी छन्।
स्थानीयवासीको मागअनुसार वडा नं ७ ले यसअघि विसं २०७५ पुस १७ गते सातदिने सूचना जारी गर्दै अतिक्रमण हटाउन अनुरोध गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई अब थप कडाइका साथ निरन्तरता दिने जनाएको छ।