रुकुमपूर्वमा वर्षापछि मध्यपहाडी लोकमार्गसहित दर्जनौँ सडक अवरुद्ध
रुकुमपूर्व — शनिबार साँझ परेको भारी वर्षापछि रुकुमपूर्वमा मध्यपहाडी लोकमार्गसहित दर्जनौँ सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाका कारण विभिन्न स्थानमा लेदोसहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा प्रभावित भएको हो।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुबोट, सुन्तलाबारी, सैपातुङ, काँक्री र सीतालगायत क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। यस्तै मुरुका दुई स्थानमा समेत पहिरो खस्दा आवागमन रोकिएको छ भने धाउन्ने सडकखण्ड पनि बन्द भएको छ।
सहायक निरीक्षक थापाले भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिएका छन्। उनले मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम रहने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
यसैबीच, शनिबार साँझ करिब ६ बजेदेखि रुकुमपूर्वमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ। वर्षासँगै आएको असिनाका कारण गहुँबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।