बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
बाजुरामा बुधबार चट्याङ लागेर वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन्।
पूर्वी उत्तरी भेगस्थित स्वामीकार्तिक खापर गाउँपालिका–१ को जोरुको रानीसैन वनमा चरिरहेका भेडाबाख्रा पानी पर्दा ओत लाग्न ओडारमा बसेका बेला चट्याङ लागेर मरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनाको जानकारी पाएपछि इलाका प्रहरीचौकी स्वामीकार्तिकबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
यसैबीच, मंगलबार वनबाट घर फर्काउने क्रममा पहिरो जाँदा जगन्नाथ गाउँपालिका–२ माथिल्लो हुनीमा १३ बाख्रा मरेका थिए भने ३८ भेडाबाख्रा अझै बेपत्ता रहेका छन्।