मेलुङ गाउँपालिका–६ मा कृषकलाई ५०% अनुदानमा हाते ट्याक्टर वितरण
दोलखा — मेलुङ गाउँपालिका वडा नम्बर–६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। चालु आर्थिक वर्षको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडाले ५० प्रतिशत अनुदानमा २८ जना सक्रिय कृषकलाई सोमबार एक कार्यक्रमका बीच मिनिटेलर (हाते ट्याक्टर) उपलब्ध गराएको हो।
वडाअध्यक्ष कुसुम लामा का अनुसार करिब ५ लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको कार्यक्रममार्फत परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि र लागत घटाउने उद्देश्य राखिएको छ।
कार्यक्रमअन्तर्गत देविथान, हिले तामाङ गाउँ, हिले थापागाउँ, तीनपिल्लेलगायतका बस्तीका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको वडाले जनाएको छ। कृषकको माग र आवश्यकतालाई ध्यानमा राख्दै अनुदानमा उपकरण उपलब्ध गराइएको हो।
पछिल्ला वर्षहरूमा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको र खेतबारी जोत्न समस्या बढिरहेको अवस्थामा हाते ट्याक्टरले राहत मिलेको स्थानीय कृषकहरूको भनाइ छ। महिलाहरूले समेत सजिलै प्रयोग गर्न सक्ने भएकाले यो उपकरण अझ उपयोगी भएको उनीहरूले बताएका छन्।
दोलखा जिल्लाभर परम्परागत हलो–जुवा प्रयोग घट्दै जाँदा हाते ट्याक्टरजस्ता यान्त्रिक उपकरणको प्रयोग बढ्दै गएको देखिन्छ। यसले कम समयमा धेरै खेत जोत्न सकिने, श्रम र समय बचत हुने तथा गोरु पाल्नुपर्ने झन्झट हट्ने कृषकहरूको अनुभव छ।