काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ९०३ चालक कारबाहीमा
काठमाडौं — बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ९०३ जना चालक कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने १२७, अवैध राइड सेयरिङ गर्ने २८१, ट्राफिक संकेत उल्लङ्घन गर्ने २०० र तीव्र गतिमा सवारी चलाउने १७६ जनालाई कारबाही गरिएको हो।
यस्तै, लेन अनुशासन उल्लङ्घन, निषेधित क्षेत्रमा हर्न बजाउने तथा अन्य नियम तोड्ने चालकहरूलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।