सरकारको दाबी: अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ सवारी चालक अनुमतिपत्र छपाइ सुरु
काठमाडौं — सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रिय मानकअनुसार रहेको दाबी गरेको छ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ लाइसेन्स अन्तर्राष्ट्रिय स्तरको आईएसओ ७८१० आईडी–९१ गुणस्तरमा आधारित रहेको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार यो मापदण्ड विश्वभर प्रयोग हुने क्रेडिट कार्डको सुरक्षा संरचनासँग मिल्दोजुल्दो प्रविधिमा आधारित हो।
सरकारले जेन–जी आन्दोलनपछि मात्र केन्द्रबाट लाइसेन्स छपाइ सुरु गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “हाल छपाइ भइरहेको लाइसेन्स उच्च सुरक्षा मापदण्डयुक्त अन्तर्राष्ट्रिय स्तरको हो।”
मन्त्रालयका अनुसार नयाँ लाइसेन्समा इन्टेलिजेन्ट क्यूआर प्रविधि प्रयोग गरिएको छ, जसले कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड सुरक्षा प्रणाली प्रदान गर्छ। यसमा कुल ३९ वटा सुरक्षा विशेषता समावेश गरिएको दाबी गरिएको छ।
यसअघि प्रयोग हुँदै आएको स्मार्ट चिप प्रणालीमा डिजिटल रिडिङका लागि विदेशी प्राविधिकमा निर्भर हुनुपर्ने अवस्था रहे पनि नयाँ प्रणालीले उक्त निर्भरता हटाएको मन्त्रालयको भनाइ छ।
त्यस्तै, सम्पूर्ण उत्पादन प्रक्रिया इन्ड–टु–इन्ड अफलाइन प्रणालीमा आधारित भएकाले डेटा चुहावट वा अनधिकृत पहुँचको कुनै सम्भावना नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकारले नयाँ प्रविधिले सवारी व्यवस्थापन प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र आधुनिक बनाउने अपेक्षा व्यक्त गरेको छ।