जिफन्टको मे दिवस घोषणापत्र: प्रविधिमैत्री श्रम नीति र श्रमिक अधिकार सुदृढीकरणमा जोड
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६ को अवसरमा विस्तृत घोषणापत्र सार्वजनिक गर्दै श्रमिक अधिकारको संरक्षणसँगै प्रविधिमैत्री श्रम नीतिमा जोड दिएको छ। ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि!’ भन्ने नारासहित स्वदेश र प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ।
घोषणापत्रमार्फत जिफन्टले लोकतान्त्रिक तथा ट्रेड युनियन आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रमिकहरूलाई शुभकामना दिएको छ। साथै अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस को अवसरमा कामका क्रममा ज्यान गुमाएका श्रमिकप्रति सम्मान प्रकट गरिएको छ।
संगठनले पछिल्लो राजनीतिक घटनाक्रम र वर्तमान सरकारप्रति टिप्पणी गर्दै श्रमिकका संवैधानिक तथा अन्तर्राष्ट्रिय अधिकार खुम्च्याउने प्रयास भइरहेको आरोप लगाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन को अभिसन्धि ९८ कार्यान्वयन गर्दै संगठन स्वतन्त्रता र सामूहिक सौदाबाजी अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
घोषणापत्रमा श्रमिक आन्दोलनलाई नयाँ युगअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै तलब वृद्धिसँगै सीप विकास, डिजिटल रूपान्तरण, उत्पादनशीलता, सामाजिक सुरक्षा र रोजगारी सिर्जनामा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख छ।
जिफन्टले न्यूनतम पारिश्रमिकलाई जीवनयापन लागतसँग जोड्ने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, पारिश्रमिकसहित इन्टर्नशिप लागू गर्ने तथा कृत्रिम बुद्धिमत्ता र हरित रोजगारीसम्बन्धी तालिम सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ। साथै महिला श्रमिक सशक्तीकरण, आप्रवासी श्रमिक संरक्षण, अनौपचारिक क्षेत्र विस्तार, मानसिक स्वास्थ्य र कार्यस्थल सुरक्षा प्रवर्द्धनलाई प्राथमिकता दिएको छ।
संगठनात्मक सुधारतर्फ सदस्यता डिजिटलाइजेशन, युवा नेतृत्व विकास, महिला प्रतिनिधित्व वृद्धि र श्रम बजार अध्ययनका लागि अनुसन्धान इकाइ सुदृढीकरण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। बैंकिङ, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, निर्माण र पर्यटन क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
जिफन्टले सरकारसँग न्यूनतम तलब कार्यान्वयन, गिग श्रमिकसम्बन्धी कानुन निर्माण, सामाजिक सुरक्षा विस्तार, श्रम अदालत सुदृढीकरण र युवा रोजगारी कार्यक्रम सञ्चालनजस्ता माग राख्दै संवाद, सहकार्य र सहअस्तित्वमार्फत श्रमिक आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।