प्रचण्डको आग्रह: चुनाव नहुने भ्रममा नपर्न कार्यकर्तालाई निर्देशन
काठमाडौं, ९ फाल्गुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव नहुने भ्रम फैलाउनेप्रति आपत्ति जनाएका छन्।
नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले इतिहासमा जनक्रान्तिद्वारा अस्वीकार गरिएका केही व्यक्तिहरूले चुनाव नहुने हल्ला फैलाइरहेको आरोप लगाए। चुनाव हुने निश्चित भइसकेको अवस्थामा यस्ता प्रचारका पछाडि नलाग्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरू सक्रिय देखिए पनि त्यसको कुनै अर्थ नरहेको उनले स्पष्ट पारे। उनले सुरुदेखि नै नेकपा निर्वाचनका विषयमा दृढ रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा निर्वाचन नै तुलनात्मक रूपमा सबैभन्दा सहज विकल्प भएको धारणा राखे।
देशभर पार्टीको प्रचार अभियान तीव्र बन्दै गएको उल्लेख गर्दै उनले बाँकी दिनहरूमा युद्धस्तरमा खट्न सके नेकपालाई देशकै नम्बर एक पार्टी बनाउने र नयाँ राजनीतिक परिस्थिति सिर्जना गर्ने सम्भावना रहेको दाबी गरे। केही समय हावा–हुरी जस्तो अवस्था देखिए पनि त्यो स्थायी नहुने र जनताले यथार्थ बुझिसकेको उनले जिकिर गरे।
प्रचण्डले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रलाई जोगाउने तथा अतिवादविरुद्ध संघर्ष गर्दै देशलाई सन्तुलित विकासतर्फ लैजाने संकल्पसहित नेकपा अघि बढेको पनि बताए।