कमला पुलको ढिलोगरी निर्माणमा मन्त्री घिसिङको स्थलगत अनुगमन
सिराहा– हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषालाई जोड्ने कमला नदी पुल १४ वर्षदेखि निर्माण नपुग्दा बढेको असन्तुष्टि माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले स्थलगत अनुगमन गरेका छन्।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीसहितको टोलीले शुक्रबार गरिएको अनुगमनमा पुल निर्माणमा देखिएका ढिलाइ, ठेकेदारको कमजोरी र नागरिकले भोग्दै आएको सास्तीबारे प्रत्यक्ष जानकारी लिएको हो।
२०६८ जेठमा २४ करोड ९१ लाखमा पप्पु लुम्बिनी जेभीसँग भएको ठेक्का सम्झौताअनुसार २०७१ मंसिरमा पूरा हुनुपर्ने यो पुल आठ पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन। हालसम्म २० करोड ४३ लाख भुक्तानी भइसकेको पुलको भौतिक प्रगति ८३ र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। २०७८ असारको बाढीले पुलका दुई जग भासिनुका साथै चार स्लाबमा क्षति पुर्याएपछि परिमार्जित डिजाइनमा काम भइरहेको छ। मन्त्री घिसिङले पुल मधेशको विकासका लागि अत्यन्त महत्वपूर्ण भएको भन्दै आगामी असारभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए।