विराटनगर जुट मिल बन्द, ऐतिहासिक उद्योग खण्डहरमा
विराटनगर — नेपालको पहिलो र सरकारी स्वामित्वको विराटनगर जुट मिल लामो समयदेखि पूर्ण रूपमा बन्द रहँदा उद्योग अहिले खण्डहरमा परिणत भएको छ। देशको औद्योगिक विकास र राजनीतिक इतिहासका दृष्टिले महत्वपूर्ण मानिने यो जुट मिल पछिल्लो पटक २०७० सालदेखि सञ्चालनमा आउन सकेको छैन।
जुद्धशमशेरले १९९३ सालमा स्थापना गरेको यस उद्योग परिसरको राष्ट्रिय राजनीतिक उत्थानमा पनि उल्लेखनीय योगदान रहेको छ। यही मिल परिसरबाट नेपाली कांग्रेसले २००६ सालमा ‘प्रजातन्त्र रेडियो’ सञ्चालन गरेर राजनीतिक आन्दोलनको बलियो आवाज उठाएको थियो। पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले पनि आफ्नो राजनीतिक यात्रा यहीँबाट सुरु गरेका थिए।
ऐतिहासिक महत्व रहेको जुट मिल राजनीतिक हस्तक्षेपका कारण पटक–पटक खुल्ने र बन्द हुने क्रम दोहोरिँदै आएको छ। तर पछिल्लो एक दशकभन्दा बढी समयदेखि मिल पूर्ण रूपमा बन्द रहँदा यसको संरचना जिर्ण हुँदै गएको छ।
संरक्षण अभावका कारण मिलका थुप्रै उपकरण चोरी भएका छन् भने बाँकी उपकरणहरू पनि लामो समय प्रयोगविहीन रहँदा खिया लागेर प्रयोग अयोग्य बन्न पुगेका छन्।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि मिलको अवस्था क्रमशः कमजोर हुँदै गएको जानकारहरूको भनाइ छ। राजनीतिक अस्थिरताका बीच सञ्चालक समितिमा राजनीतिक भर्ती हुने, नेतृत्व र व्यवस्थापन पटक–पटक परिवर्तन भइरहनुले उद्योगको कार्यसम्पादन कमजोर बनेको र अन्ततः बन्द हुन पुगेको उनीहरू बताउँछन्।
ऐतिहासिक, औद्योगिक तथा राजनीतिक रूपमा महत्वपूर्ण मानिने विराटनगर जुट मिललाई पुनर्जीवित गर्ने पहल भने अहिलेसम्म प्रभावकारी रूपमा देखिएको छैन।