विपद् व्यवस्थापनदेखि पूर्वाधार विकाससम्म भारत विश्वसनीय साझेदार: मन्त्री घिसिङ
हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नेपालका पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारत दीर्घकालदेखि विश्वसनीय साझेदार बनेको बताएका छन्। हेटौँडामा बिहीबार आयोजित भारतले प्रदान गरेको आपत्कालीन प्रयोगका लागि ‘बेली ब्रिज’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतको सहयोग नेपालका महत्त्वपूर्ण पूर्वाधार विस्तारमा निर्णायक रहेको बताए।
मन्त्री घिसिङका अनुसार भारतको सहयोगमा निर्माण भएको हुलाकी राजमार्गले तराईका लाखौँ नागरिकलाई यातायात पहुँच र बजारसँग जोडेर आर्थिक गतिविधि बढाएको छ। उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको भूमिका नेपालको राष्ट्रिय यातायात र व्यापार संरचना मजबुत बनाउन महत्वपूर्ण रहेको उल्लेख गरे।
भारतीय एक्जिम बैंकमार्फत प्राप्त उदार ऋण सुविधामा भइरहेका सडक तथा पुल निर्माण परियोजनाहरूले दुर्गम क्षेत्रमा पहुँच विस्तार, क्षेत्रीय कनेक्टिभिटी वृद्धि र राष्ट्रिय यातायात सञ्जाललाई सबल बनाएको उनले बताए।
सीमापार रेल परियोजनाहरू—विशेष गरी जनकपुर–कुर्था–बिजलपुरा–बर्दिबास रेल लाइन र जोगबनी–विराटनगर कोरिडोर—लाई मन्त्री घिसिङले दुवै मुलुकबीच क्षेत्रीय एकीकरणको महत्वपूर्ण आधारका रूपमा वर्णन गरे।
विनाशकारी भूकम्पपछिको कठिन अवस्थामा भारतले पुर्याएको द्रुत सहयोगको स्मरण गर्दै उनले पुनर्निर्माण, सडक, पुल तथा सार्वजनिक सेवा पूर्वाधार पुनर्स्थापनामा भारतको योगदान निर्णायक रहेको बताए। शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता विकासजस्ता सामाजिक क्षेत्रमा समेत भारतको सहयोगले देशभर सकारात्मक प्रभाव पारेको उनको भनाइ छ। उनले भविष्यमा हरित पूर्वाधार, जलवायु–अनुकूल यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य विस्तार गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारत विकास साझेदारी पुरानो, गहिरो र विश्वासयोग्य रहेको उल्लेख गर्दै भारत नेपाललाई आवश्यक परेको बेला सहयोग गर्न तत्पर रहने प्रतिबद्धता दोहोर्याए। ‘बेली ब्रिज हस्तान्तरण भारतको नेपालप्रतिको समर्थन र दीर्घकालीन साझेदारीको प्रतिविम्ब हो,’ उनले भने।