लिमीका बासिन्दा विकासको मागसहित पहिलो पटक ठूलो समूहमा पुगे सिमकोट
हुम्लाको हिमालपारि अवस्थित नाम्खा गाउँपालिका–६ लिमीका तीन गाउँ—तिल, हल्जी र जाङ—का बासिन्दा विकासका मागसहित सदरमुकाम सिमकोट पुगेका छन्। करिब पाँच हजार मिटर उचाइमा पर्ने न्यालु लेकमा जमेको बाक्लो हिउँ हटाउँदै उनीहरू शनिबार सिमकोट आइपुगेका हुन्।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार १५ जना महिला र ५० पुरुषसहित ६५ सदस्यीय टोली विकासका विषयमा ध्यानाकर्षण गराउन डेलिगेशनमा सिमकोट आएको हो। न्यालु लेक क्षेत्रमा सडकमा जमेको बरफ फुटाउन मात्रै सात घण्टा लागेको उनले बताए।
लिमी क्षेत्रका बासिन्दाले संचार, सडक, पुल, खाद्यान्न, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवामा अझै गम्भीर समस्या भएको जनाउँदै ती समस्याको समाधानका लागि विभिन्न कार्यालयमा भेटघाट गर्न सिमकोट आएका हुन्।
टोलीले आइतबार बिहान १० बजे प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी आफ्ना समस्या औपचारिक रूपमा राख्ने छ। त्यसपछि हिल्सा–सिमकोट सडक योजना, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकमलगायतका सम्बन्धित कार्यालयमा पुगेर मागहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तामाङले जानकारी दिए।
लिमीबाट यति ठूलो संख्यामा विकासका मागसहित प्रतिनिधिमण्डल सिमकोट आएको यो पहिलो घटना हो।