भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट, बागमती प्रदेशको वार्षिक मूल्याङ्कन सार्वजनिक
काठमाडौं — भक्तपुर अस्पताल यो वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये ‘प्रदेशकै उत्कृष्ट’ घोषित भएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक मूल्याङ्कनमा विभिन्न सूचकमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भक्तपुर अस्पताल लगातार उत्कृष्ट अस्पतालको सूचीमा शीर्ष स्थानमा रहन सफल भएको हो।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूको सेवा, कार्यसम्पादन र व्यवस्थापनका सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो। कूल १०० अंकमध्ये भक्तपुर अस्पतालले ७१.१० अंक हासिल गर्दै सबै प्रादेशिक अस्पताललाई पछि पारेको उनले बताइन्।
डा. गौतम अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि भक्तपुर अस्पतालले रिफरल सेन्टरको रूपमा सेवा विस्तार गर्दै नमुना अस्पतालका रूपमा उभिन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्छ। सेवा, दक्षता र पहुँचको सुधारले अस्पतालको समग्र प्रदर्शनमा सकारात्मक प्रभाव पारेको मन्त्रालयले जनाएको छ।
भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशकै शीर्षस्थान सुरक्षित गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै केन्द्रीय तहको मूल्याङ्कनमा समेत उत्कृष्ट परिणाम ल्याउने लक्ष्यसहित अस्पताल अघि बढिरहेको बताए।
यसै मूल्याङ्कनमा त्रिशूली अस्पतालले ७०.७२ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने चौतारा अस्पताल तेस्रो भएको छ।
जनस्वास्थ्य कार्यालयतर्फ ललितपुरले सबैभन्दा धेरै अंक ल्याउँदै ‘प्रदेशकै उत्कृष्ट जिल्ला’ घोषित भएको छ। जनस्वास्थ्य कार्यालय धादिङले ७०.८६ अंक प्राप्त गरी दोस्रो स्थानमा रहँदा काभ्रेपलाञ्चोक ७०.६४ अंकसहित तेस्रो भयो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय श्रेणीमा सिन्धुली जिल्ला ७२.६० अंक प्राप्त गर्दै यस वर्षको उत्कृष्टतामा अव्वल रह्यो।
बागमती प्रदेश सरकारले सार्वजनिक गरेको यो वार्षिक मूल्याङ्कनलाई स्वास्थ्य सेवा सुधारमा योगदान पुर्याउने महत्वपूर्ण आधारका रूपमा लिइएको छ।