हिउँदमै काठमाडौंका सडक मर्मत तीव्र
काठमाडौँ, ८ मंसिर । हिउँदको मौसम सुरु भएसँगै सरकार Kathmandu का सडक मर्मत–सम्भारमा तीव्र रूपमा लागिपरेको छ। असारको अन्तिमतिर बजेट सक्न हतारहतारी खाल्डा पुर्ने पुरानै प्रवृत्ति हटाउँदै यसपटक समयमै, योजनाबद्ध तरिकाले काम अघि बढाइएको हो।
काठमाडौं सडक डिभिजनका अनुसार हाल राजधानीका प्रमुख सडकखण्डमा रहेका खाल्डाखुल्डी मर्मत, पक्कीकरण तथा कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माण गर्ने लक्ष्यअनुसार उपत्यकाभित्र नियमित सडक मर्मत सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार अब सडक मर्मत–सम्भारलाई वर्षभरि प्रभावकारी र निरन्तर रुपमा अगाडि बढाइनेछ।
मन्त्री घिसिङले हिउँदकै सुरुवातमा विकास निर्माणका काम अघि बढाउँदा पूँजीगत खर्च बढ्ने, अर्थतन्त्र चलायमान हुने र कामको गुणस्तर समेत उच्च रहने बताएका छन्।
सरकारले प्रत्येक वर्ष करिब १० अर्ब रुपैयाँ सडक मर्मतका लागि छुट्याउँदै आएको छ।