बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु
१७ कात्तिक, काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा अब रात्रिकालीन फोहोर व्यवस्थापन सहज हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबारदेखि ल्यान्डफिल साइटमा बत्ती जडानको काम सुरु गरेको छ।
प्राधिकरणका अनुसार सोमबार साइटमा बत्ती जडानका लागि पोल झार्ने कार्य सम्पन्न गरिएको छ र अब क्रमशः पोल गाड्ने तथा बत्ती जडान गर्ने काम अघि बढाइनेछ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार ल्यान्डफिल साइटको अनुगमन गर्दै स्थानीयहरूसँगको अन्तरक्रियामा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ती जडान गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्री घिसिङको निर्देशनपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई आवश्यक व्यवस्था मिलाउन आदेश दिइएको थियो।
यससँगै, साइटमा फोहोरबाट निस्कने लिच्चड (द्रव फोहोर) व्यवस्थापनका लागि आवश्यक पम्प पनि आपूर्ति भइसकेको छ। सहरी विकास मन्त्रालयका अनुसार स्थानीयसँग गरिएको प्रतिबद्धता पालना सुनिश्चित गर्न सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमा काठमाडौं महानगरपालिका, धुनिबेँसी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीय प्रतिनिधिहरू सहभागी हुनेछन्।
सहरी विकास मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “ल्यान्डफिल साइटलाई प्रभावकारी र वातावरणमैत्री बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध छ, रात्रिकालीन बत्ती जडान र लिच्चड व्यवस्थापन त्यसको प्रारम्भिक चरण हो।”