बीपी राजमार्गको क्षतिग्रस्त सडकखण्डको स्थायी पुनःनिर्माण सुरु
काठमाडौं, नेपाल– पटक-पटकको बाढी र पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको तीन प्रमुख सडकखण्डको स्थायी पुनःनिर्माण कार्य सुरु भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार, पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गको रूपमा रहेको राजमार्गको निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गत वर्ष असोज दोस्रो हप्ता र यस वर्ष असोज तेस्रो हप्तामा आएको बाढी–पहिरोले काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। अस्थायी सञ्चालनका उपाय पछाडि गर्दै अब स्थायी निर्माण कार्य थालिएको डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए।
उनका अनुसार, काभ्रेपलाञ्चोकतर्फका तीन मुख्य खण्ड—चौकीडाँडा, मङ्गलटार र नार्के गिम्दी—बाट निर्माण सुरु भएको छ। पुनःनिर्माणमा सडकलाई दुई लेनको बनाइनेछ र पाँच पुललाई पनि दुई लेनको रूपमा उन्नत गर्ने योजना रहेको छ।
निर्माण ठेक्का विवरण यस प्रकार छन्:
डालाबेंसी–चारसयबेँसी (८.५ किमी): खानी–एवन–कमलजीत जेभी, रु १ अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)
चारसयबेँसी–भकुन्डेबेँसी (११.०८ किमी): लामा–नवकान्तिपुर जेभी, रु १ अर्ब ३३ करोड ५३ लाख
नेपालथोक–बर्खेखोला (४.९ किमी) खरिढुङ्गा–घिसिङ–क्षितिज जेभी, रु ६१ करोड
बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्नेछ। जापान सरकारले यसका लागि रु २ अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।
कुल २९.५ किमी क्षतिग्रस्त सडकको पुनःनिर्माणका लागि सरकारले रु ८ अर्ब ५० करोड स्रोत स्वीकृत गरेको छ। यसमा काभ्रेपलाञ्चोकतर्फका तीन खण्डलाई रु ७ अर्ब ५० करोड र सिन्धुलीको एक खण्डलाई रु १ अर्ब स्वीकृत गरिएको छ।
बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास, १६० किमी) निर्माण कार्य आर्थिक वर्ष २०५३/०५४ बाट जापान सरकारको सहयोगमा सुरु भएको थियो। खण्डबद्ध निर्माणपछि विसं २०७२ असार १८ गते जापान सरकारले राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
यो राजमार्ग काठमाडौँलाई पूर्वी र मध्यपहाडी नेपालसँग जोड्ने छोटो र मुख्य मार्गको रूपमा परिचित छ।