मधेस प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री सतिश कुमार सिंहले आज लिँदै विश्वासको मत
असोज २७ – मधेस प्रदेश सभाको बैठक आज केही ढिलो गरी सुरु भएको छ। दिउँसो १ बजे तय भएको बैठक दलहरूबीचको अन्तिम छलफलका कारण केही समयपछि मात्रै प्रारम्भ भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
आजको प्रमुख कार्यसूची मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने रहेको छ। सिंहले असोज १६ गते मुख्यमन्त्रीको शपथ लिएपछि आज पहिलोपटक संसद्को विश्वास लिँदै छन्।
यसैबीच, जनता समाजवादी पार्टी जसपा नेपालका प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू मत विभाजनमा नजाने र तटस्थ बस्ने निर्णयमा रहेको जानकारी दिएका छन्। जसपाले सरकारमा नजाने तर समर्थन पनि नगर्ने रणनीति अख्तियार गरेको देखिएको छ।
मुख्यमन्त्री सिंहलाई प्रदेश सरकार गठन गर्न आवश्यक बहुमतको आधार भने रहेको छ। नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका सिंहलाई विश्वासको मत सहजै प्राप्त हुने अनुमान छ।
यद्यपि, विपक्षी दलहरूको तटस्थता र केही सांसदहरूको सम्भावित अनुपस्थितिले मतदानको परिणाम रोचक बन्ने देखिन्छ।
प्रदेश २ को नेतृत्वमा पटक–पटक परिवर्तन हुँदै आएको छ। सतिश कुमार सिंह मधेस प्रदेशका चौथो मुख्यमन्त्री हुन्। प्रदेश सरकार अस्थिर भइरहँदा बजेट कार्यान्वयनदेखि नीति निर्माणसम्मका काम प्रभावित हुँदै आएका छन्।