१० जलविद्युत् आयोजना अवरुद्ध : निःशुल्क सेयरको माग गर्दै स्थानीयको अवरोध
काठमाडौं, असोज २९ –देशभरका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले निःशुल्क सेयरको माग गर्दै अवरोध सिर्जना गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जानकारी दिएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा इप्पानले सिन्धुपाल्चोकको जुगल गाउँपालिका लगायतका क्षेत्रमा निर्माणाधीन तथा निर्माणको चरणमा रहेका आयोजनामा स्थानीयको अवरोधका कारण काम रोकिएको जनाएको हो।
इप्पानका अनुसार प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर दिने प्रावधान कायमै रहे पनि कतिपय स्थानमा ‘निःशुल्क सेयर’ को माग गर्दै अवरोध भएको छ।
"धितोपत्र बोर्डबाट समयमा आईपीओ स्वीकृति नआएको भन्दै आयोजना दोषी देखाउने, अनि त्यसकै भरमा धम्की दिनेसम्मका क्रियाकलाप हुन थालेका छन्", इप्पानले जनाएको छ।
इप्पानका अनुसार सेयर निष्कासन प्रक्रिया धितोपत्र सूचीकरण तथा वितरण नियमावली, २०६५ अनुसार भइरहेको छ। तर, गैरकानुनी रूपमा सेयर निःशुल्क दिनुपर्ने माग राखिँदा निजी लगानीकर्ताको मनोबल कमजोर हुने खतरा बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
आयोजनामा भइरहेको अवरोध तत्काल रोक्न र लगानी मैत्री वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै इप्पानले विशेष सुरक्षादस्ता गठन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
"विद्युत् आयोजना राष्ट्रिय सम्पत्ति हुन्, तिनको सुरक्षाका लागि गृह, रक्षा मन्त्रालय र स्थानीय सरकारलाई विशेष जिम्मेवारी दिनुपर्छ", इप्पानको भनाइ छ।
साथै, सुरक्षा निकाय र स्थानीय पालिकाका प्रमुखहरूको ध्यानाकर्षण गराउँदै सरकारले जलविद्युत् सुरक्षामा स्पष्ट नीति ल्याउनुपर्ने सुझाव पनि इप्पानले दिएको छ।