कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो, अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी हैनन्: नेता निधि
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताउनुभएको छ ।
कांग्रेस चितवनको प्रशिक्षण विभागले बिहीबार नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताउनुभयो ।
कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी भएको र अन्य कुनै पार्टी पनि हैनन् भनेर उहाँले दावी गर्नुभएको छ। नेपालमा ल्याइएको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ थियो ।
संघीय संरचना नेपालमा ल्याइए पनि संघीय प्रणाली अनुसारको पूरा संरचना निर्माण भइनसकेको उहाँले बताउनुभयो। संविधानले संघीय, प्रदेश र स्थानीय तह गरी ३ वटा सरकार निर्माण गरेको भन्दै नेता निधिले प्रहरी नभइ सरकार नहुने बताउनुभएको छ । संघीययताको पक्षमा अझै कानून बनाउँदै संघीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो ।
कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरुका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताउनुभएको छ । केन्द्रले गठबन्धन गरेर पठाउँदा आफूले कहिले हसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको उहाँको तर्क छ । ३ दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टंकनाथ पौडेलले जानकारी दिनुभयो।
सहभागीहरुलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल, कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्य, डा. कृष्णप्रसाद पौडेल र बागमती प्रदेशका मुख्य सचिव राजु नेपाल लगायतले प्रशिक्षण दिने भएका छन् ।