मकवानपुर पहिरो : बागमतीको छालले बचायो घिसिङको ज्यान
बागमतीको सिक्रे दोभानमा पहिरोमा परेर हराएका ६ जनामध्ये एक जनालाई मंगलबार साँझ जीवितै उद्धार गरिएको छ । सोमबार राति परेको वर्षाका कारण खसेको पहिरोले काभ्रे र मकवानपुरको सीमानामा रहेको बागमती गाउँपालिका–५ सिक्रे दोभानमा स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा ७ जना बेपत्ता भएका थिए ।
मंगलबार बिहान ६ः३० बजेको समयमा स्याङ्तानकी श्रीमती सन्तमायालाई उद्धार गरिएको थियो । तर, स्थानीय मेडिकलमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो । दिनभर खोजी गर्दा पनि अन्य ६ जनाको अवस्था पत्ता लाग्न सकेको थिएन ।
पहिरोमा परेर हराइरहेकामध्ये १९ वर्षीय पासाङ घिसिङलाई १४ घण्टापछि जीवितै उद्धार गरिएको हो । उनलाई उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ । सिन्धुली, हरिहरपुर–१ कोकटीबाट घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।
एकै घरमा सुतिरहेका ७ जनालाई घरै छेउबाट बगेको सिक्रे खोल्सीले ल्याएको पहिरोले बागमती नदीमा पु¥याएको थियो । सुतिरेका उनीहरुलाई मंगलबार बिहान ४ बजेको समयमा सिक्रे खोलामा आएको ढुंगा माटो मिसिएको भेलसहितको पहिरोले बागमती नदीमा मिसाएको हो ।
पहिरोमा हराएका घिसिङलाई १४ घण्टापछि प्रहरीले बागमती खोलाको बगरमा फेला पारेको थियो । घटनास्थलबाट करिब ७ किलोमिटर तल (पूर्व दक्षिणमा) घिसिङ भेटिएका थिए । उनलाई बोकेर बागमती पुलसम्म ल्याइ एम्बुलेन्स मार्फत् उपचारका लागि हेटौंडा पठाइएको एक प्रहरी कर्मचारीले बताए । प्रहरीले साँझ ७ बजेको समयमा उनको उद्धार गरेको ती प्रहरीको भनाइ छ ।
‘खोलाको बीचबाट एक जनाको उद्धार गर्न सफल भएका छाैँ । बागमती गाउँपालिकाको बगरे भन्ने स्थानमा बागमती खोलाको छालले फालेको पाखामा उनलाई भेटिएको थियो । घटनास्थलबाट उद्धार गरिएको स्थान करिब ७ किलोमिटर पूर्वदक्षिण तर्फ पर्दछ,’ उनले भने, ‘पहिरोमा हराएका ती युवकलाई खोलाले बगाएर त्यहाँसम्म पु¥याएको र खोलाको बीच भागमा रहेको बगरको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरिएको हो ।’
खोलाको बगरमा अड्किएको अवस्थामा स्थानीयले घिसिङलाई देखेपछि प्रहरीलाई खबर गरेको र प्रहरी पुगेर स्थानीयको सहयोगमा घिसिङको उद्धार गरिएको उनले बताए । ‘सो खोलामा नियमित आवतजावत गर्ने भनेको स्थानीय नै हुन्, उनीहरुको सहयोग बिना उद्धार कार्य सम्भव थिएन,’ उनले भने
मकवानपुर र सिन्धुलीको सीमानामा रहेको बागमती पुलबाट घटनास्थल १३ किलोमिटर उत्तरतर्फ अवस्थित छ भने बागमती गाउँपालिकाको केन्द्र झुरझुरेबाट बागमती पुलसम्मको दुरी करिव ५ किलोमिटर छ । उद्धारका लागि खटाइएका प्रहरी झुरझुरेमा सवारीसाधन राखेर घटनास्थलसम्म पुगेका थिए । उद्धार समाग्रीसहित प्रहरीहरु घटनास्थलसम्म पैदल पुगेका थिए ।
बिहान १०ः३० बजे हेटौंडाबाट हिँडेको उद्धार टोली साँझ ६ बजेमात्र घटनास्थल पुगेको थियो । ‘सडकमा निकै पहिरो खसेको छ । पैदल हिँड्नसमेत कठिन हुने अवस्था छ । अत्यन्त संघर्षपूर्ण तवरले प्रहरी घटनास्थलसम्म पुगेको थियो,’ ती प्रहरी कर्मचारीले भने ।