यी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल देशभर आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहँदा अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद्ले जानकारी दिए।
‘मौसमको सरदर रेखा नेपालमै चाहिँ अवस्थित छैन। तर औसतभन्दा माथि नै अर्थात् उत्तरतिर नै भएकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो भारी वर्षाको सम्भावना देखाएको छैन,’ मौसमविद् गंगा नगरकोटीले सेतोपाटीसँग भनिन्।
उनका अनुसार देशभर आंशिदेखि सामान्य बदलिकै अवस्था रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिपख देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन्।
कोशी र मदेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती जिल्ला भएर बग्ने नदीको जल सतह बढ्ने सम्भावना विभागले औंल्याएको छ।
नदीमा गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ।