लम्पी स्किन विरुद्धको खोपका लागि ६ प्रदेशले छुट्याए बजेट, आयातका लागि परेन निवेदन
लम्पी स्किन महामारीले लाखौँ पशु संक्रमित र हजारौँ पशु मरेपछि सरकारले खोप आयातका लागि बाटो खुलाएको छ । सरकारले किसानलाई राहत दिने नाममा केही व्यक्तिको फाइदाका लागि जैविक पदार्थसम्बन्धी भेटनरी मापदण्ड २०६३ लाई संशोधन गरी खोप गोटपक्स खोप आयात गर्ने बाटो खुलाएको हो । तर, खोप आयातका लागि भने निवेदननै परेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मापदण्ड संशोधन गरी गोटपक्स ल्याउन अनुमति दिएको दुई साता पुगे पनि खोप खरिदका लागि आवेदन नपरेको पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए ।
गोटपक्स खोप आयात गर्न इच्छुकले नेपाल एकद्वार राष्ट्रिय प्रणालीमा निवेदन दिन सक्ने उनले बताए ।उनले भने, ‘खोप आयातकर्ताले पेश गरेको कागजात पुगेको खण्डमा विभागको आयात निर्यात प्राविधिक उपसमितिले आवेदन भेरिफाइ गरी सिफारिस समितिमा निवेदन पठाइ तत्काल आकस्मिक बैठक बसी विभागले फाष्ट ट्«याकबाट अनुमति दिनेछ ।’
विभागबाटतिपाएका आयातकर्ताले गोटपक्स उत्पादन गर्ने राष्ट्रहरूबाट खरिद गर्न सक्ने उनले बताए ।
६ वटा प्रदेशले लम्पी स्किन रोग विरुद्धको खोप खरिदका लागि बजेट विनियोजन गरेका छन् । यस अघि पशु विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त १३ लाख डोज निथ्लिङ स्ट्रेन खोप आयात गरिएको थियो ।
एक पशु विज्ञका अनुसार बिचौलियाको प्रभावमा परी मापदण्ड २०६३ लाई संशोधन गरी गोट पक्सखोपका लागि अनुमति दिइएको छ । यसरी खोप खरिदका लागि बाटो खुलाइएको गोटपक्स खोप भेडाबाख्रालाई दिने विज्ञको भनाइ छ । यद्यपि नेपालमा बाख्रामा गोट पक्स रोग देखा नपरेको विभागको भनाइ छ ।
यता विभागका सूचना अधिकारी डा ढकालका अनुसार पालिका, प्रदेश, निर्देशनालयहरूले लम्पी स्किन रोग विरुद्धको खोप खरिद गर्दा आफ्नो बजेटअनुसार र इच्छाअनुसार गोड पक्स वा निथ्लिङस्ट्रेन खोप आयात गर्न सक्छन् ।
उनले भने, ‘विज्ञहरूको सुझावमा र गोट पक्स खोप चाइना भारत लगायतका राष्ट्रमा प्रयोग भईसकेको छ । किसानहरूले रोजेर खोप आयात गर्न सक्छन् ।’ विभागले लम्पी स्किन विरुद्धको खोप खरिद गरी प्रदेश तथा स्थानीय निकायलाई वितरण नगर्ने हुँदा तिनले आफै खरिद गर्न पाउने व्यवस्था भएकाले खोप रोज्न सक्ने उनले बताए ।