थ्रेड्सप्रति मोहभंग, ५ गुणाले घटे प्रयोगकर्ता
मेटा कम्पनीले गत महिना आफ्नो इन्स्टाग्राम एपमा आधारित ट्वीटर जस्तै नयाँ सोसल मिडिया प्लाटफर्म थ्रेड्स सार्वजनिक गर्यो। थ्रेड्सले सार्वजनिक भएकै दिनबाट अत्यधिक लोकप्रियताका साथ नयाँ किर्तिमानहरु राख्न सफल भयो ।
तर, विस्तारै थ्रेड्सप्रति प्रयोगकर्ताहरुको मोहभंग भैरहेको देखिएको छ । यो एपका प्रयोगकर्ताको संख्या ५ गुणाले घटेको छ भने प्रयोगकर्ताले प्रतिदिन ३ मिनेभन्दा पनि कम समय मात्रै यो एप प्रयोग गरिरहेका छन् ।
रिपोर्ट अनुसार जुलाईको सुरुमा थ्रेड्स एपका सक्रिय प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै अर्थात् २३ लाख पुगेकोमा अगष्ट ७ मा त्यो संख्या घटेर ५ लाख ७६ हजारमा झरेको छ ।
यसरी सुरुवातको एक महिनामै थ्रेड्सका प्रयोगकर्ताको संख्यामा ७९ प्रतिशतले कमी आएको छ । लञ्चिङको सुरुवाती चौथो दिनसम्ममा थ्रेड्सका दैनिक प्रयोगकर्ता ४ करोड ९३ लाख रहेकोमा अहिले घटेर १ करोड ३ लाखमा झरेका छन् ।
प्रयोगकर्ताको संख्या संख्या अमेरिकामा यो प्लाटफर्ममा बिताइने दैनिक औषत समय पनि तिव्र रुपमा घेको छ । यसअघि प्रयोगकर्ताले औषतमा यो एपमा दैनिक २१ मिनेट बिताउने गरेकोमा हाल ३ मिनेट भन्दा कम मात्रै समय बिताउने गरेका छन् ।
त्यस्तै अमेरिकाका ठूला ब्राण्ड तथा कम्पनीहरुले थ्रेड्समा राख्ने पोस्टहरुको संख्या पनि घटाएका छन् । गत जुलाई ५ मा लञ्च भएको थ्रेड्स एपमा पहिलो केही घण्टामै ५ लाख जनाले खाता खोलेका थिए ।
त्यस्तै एक हप्ताभन्दा कम अवधिमै थ्रेड्समा अकाउन्ट खोल्नेको संख्या १० करोड पुगेको थियो । जसका कारण थ्रेड्स इतिहासमै सबैभन्दा छिटो १० करोड पटक डाउनलोड हुने एप बनेको थियो ।
तर यसको सुरुवाती जादू विस्तारै सिथिल हुँदै गयो । थ्रेड्समा खाता खोल्ने अधिकांसले यो एप चलाउँदै चलाएनन् । थ्रेड्स एप सबैभन्दा धेरैले प्रयोग गरेको समयमा समेत यसका प्रयोगकर्ता ट्वीटरको तुलनामा आधा भन्दा धेरैले कम रहेको डिजिटल इन्टेलिजेन्स प्लाटफर्म सिमिलर वेबको रिपोर्टमा उल्लेख छ । ट्वीटरका दैनिक औषत प्रयोगकर्ताको संख्या १० करोड हुने गरेको छ ।
एलन मस्कले खरीद गरेसँगै ट्वीटरमा छाइरहेको अस्थिरताको मौका छोप्नका लागि मार्क जुकरबर्गले ट्वीटर जस्तै माइक्रो ब्लगिङ प्लाटफर्मका रुपमा थ्रेड्स ल्याएका थिए ।