खराब कर्जाको शिकारमा विकास बैंक : ४७ प्रतिशतसम्मले नाफा खुम्चियो
आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरुको नाफामा गिरावट आएको छ । कूल १७ वटा विकास बैंकहरुमध्ये राष्ट्रिय स्तरका ८ वटा बैंकहरुले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६.९३ प्रतिशतले नाफा गुमाउँदै जम्मा ५ अर्ब ८१ करोड ९२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
जबकि अघिल्लो वर्ष नै बैंकहरुले ६ अर्ब ३१ करोड ३३ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाइसकेका थिए । खासगरी बैंकहरुको खराब कर्जाको दर बढ्दा नाफामा अस्वाभाविक गिरावट आएको देखिन्छ ।
उच्च बजार महँगी, आर्थिक मन्दीको चपेटामा उपभोग्य बजार नै शिथिल हुन पुग्दा प्रायः आर्थिक वर्ष २०७९/८० नै प्रभावित हुन पुग्यो । व्यक्तिको क्रय शक्ति घट्दै गर्दा बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जाको सावाँ ब्याज चलाउन सकेनन् । जसका कारण बैंकहरुको खराब कर्जा (एनपीएल) को दर उच्च गतिमा बढ्न पुग्यो । यस अवधिमा विकास बैंकहरुको खराब कर्जाको दर ४.९८ प्रतिशतसम्म पुग्यो । जसको प्रभाव समीक्षा वर्षमा विकास बैंकहरुको नाफामा ब्रेक लाग्न पुगेको छ ।