सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नाम सिफारिस भएको छ।
सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो।
उनीहरू २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन्।
यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए। बिहीबार बढुवा सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन्।
सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्। बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउन खोजेसँगै सरूवा-बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ।
साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।
यसपटक ओएण्डएम नभएको भए जम्मा ४ जनामात्र एसएसपीमा बढुवा हुने अवस्था थियो भने डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो।
महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्न पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।
सशस्त्र प्रहरीमा वर्षौंदेखि रहेको वृत्ति विकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओएण्डएम) मार्फत केही दरवन्दी थप र केही पदहरू समायोजन भएका थिए।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरू एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ।
हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शून्य भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवासम्बन्धी आधारलाई लिएर बढुवा गरिएको हो।
बढुवामा गृह मन्त्रालयको समेत कुनै हस्तक्षेप नरहेको सशस्त्र प्रहरी बलले दाबी गरेको छ।
सूची:
